नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोपछि तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८५६ जना नागरिक अझै सम्पर्कविहीन छन्।
फेला परेका शवमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ५ र रसुवामा २ वटा रहेका छन्। सम्पर्कविहीन हुनेहरूमा सुरक्षाकर्मी (नेपाली सेना ४४, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरी १३) र ५७९ जना विदेशी तथा नेपाली पर्यटकहरूसमेत रहेका छन्। घटनामा ७३ जना घाइते भएका छन्।
बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र ४० किलोमिटर पक्की सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। हालसम्म नेपाली सेना र सिभिल हेलिकप्टरमार्फत २३९ जनाको हवाइ उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी ७ हजार ४ सय १५ जना भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसैबिच भदौ १० गते बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ। सरकारले घाइतेहरूको नि:शुल्क स्वास्थ्य उपचार गर्ने, मृतकका परिवारलाई प्रचलित कानुनबमोजिम तत्काल आर्थिक सहायता उपलब्ध गराउने, सडक, विद्युत् तथा दूरसञ्चार सेवा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको छ।